महन्थ ठाकुरको चेतावनी : मधेसको समस्या समाधान नभए ज्वालामुखी जस्तै विस्फोट हुन्छ


खबरस्टोरी संवाददाता
२४ मंसिर २०७८, शुक्रबार
महन्थ ठाकुरको चेतावनी : मधेसको समस्या समाधान नभए ज्वालामुखी जस्तै विस्फोट हुन्छ

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभए मधेस पुनः ज्वालामुखी जस्तै विस्फोट हुने चेतावनी दिएका छन्। उनले संविधानप्रति आफूहरूको असन्तुष्टि कायमै रहेको बताए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष ठाकुरले कुनै पनि आन्दोलनलाई दबाएर समाधान नहुने बताएका हुन् । ‘संविधानसँग हाम्रो असन्तुष्टि कायमै छ, धन्यवाद दिनुपर्छ १३९ जना ओलीजीबाट मुक्त भएका छन् । अझै पनि कयौँ कार्यकर्ता जेलमा छन्,’ ठाकुरले भने, ‘कुनै पनि आन्दोलन र क्रान्तिलाई दबाएर सम्बोधन हुँदैन, ज्वालामुखी जस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रिन बाध्य हुन्छौँ ।’

सरकारको नेतृत्व गरेको पार्टीमा स्थिरता नरहे सरकार स्थिर नहुने ठाकुरले बताए । सरकारमा स्थिरता नरहँदा राज्यका अन्य अंग प्रभावित हुने गरेको उनले बताए ।