मिले राजेन्द्र लिङदेन र कमल थापा, पुस १६ गते एकता सभा


खबरस्टोरी संवाददाता
९ पुष २०८२, बुधबार
मिले राजेन्द्र लिङदेन र कमल थापा, पुस १६ गते एकता सभा

काठमाडौं । चार वर्षअघि पार्टी अध्यक्षमा पराजित भई अलग पार्टी गठन गरेका कमल थापा अन्ततः राप्रपामै फर्किएका छन् । 

२०७८ मंसिरमा राप्रपाको सातौं महाधिवेशनमा अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि राप्रपा छाडेर राप्रपा नेपाल ब्यूँताएका उनी अन्ततः लिङ्देनको नेतृत्वको स्वीकार गर्दै आएपामा आउन तयार भएका हुन् ।

बुधबार राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा लिङदेन र थापाले हस्ताक्षर गरेका छन् । पार्टी एकता हस्ताक्षर कार्यक्रम केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको थियो ।

सहमतिअनुसार पार्टी एकता घोषणा कार्यक्रम पुस १६ गते राष्ट्रिय सभा गृह काठमाडौंमा हुनेछ । 

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

२०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको समेत आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल पुर्नगठनको घोषणा गरेका थिए । जेन–जी आन्दोलनको उथलपुथलबीच मूलधारका दलहरूको चुनौती बढिरहँदा दुई राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच फेरि एकता भएको हो ।