मन्त्रीका उद्दण्डता, गठबन्धनको अभयदान


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
मन्त्रीका उद्दण्डता, गठबन्धनको अभयदान
काठमाडौँ । वर्षको बजेट संसद्मा प्रस्तुत गर्ने अघिल्लो मध्यरात बिचौलियालाई अर्थ मन्त्रालयमा बोलाएर राजस्वका दर हेरफेर गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि कुनै छानबिन भएको छैन । 

पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका अध्यक्षलाई अश्लील गाली मात्र होइन, हातपात नै गरेको अडियो शुक्रबार सार्वजनिक भएको छ, संस्कृतिमन्त्रीको ‘संस्कृति’ सत्तारूढ गठबन्धनका लागि मुद्दा बनेको छैन ।

लुम्बिनीकी स्वास्थ्य, जनसंख्या र परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले गत मंगलबार कथित प्रेमीको घर गएर महिला तथा बालबालिकामाथि हातपात गरेको भिडियो पनि भाइरल भएको छ, सर्वसाधारणको परिवारमाथि धावा बोल्ने वली अहिले पनि परिवार कल्याण राज्यमन्त्रीको पदमा छिन् ।

दीपक मनाङे नामले चिनिने गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले २२ चैतमा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई मन्त्रालयमै कुटपिट गरे । कर्मचारीमाथि गुन्डागर्दी गर्दा पनि कारबाही भएको छैन ।

यसरी शर्मादेखि आले र वलीदेखि गुरुङसम्मले नैतिकता र मर्यादामाथि उत्पात मच्चाएका छन्, प्रधानमन्त्री र गठबन्धनका नेताहरू तमासे बनेका छन् । सत्तामा जसरी पनि बस्ने र त्यसका लागि हरेक मूल्यमा संख्या बचाउने ध्याउन्नमा लागेका गठबन्धनका नेताहरूले विधि र संस्कृतिलाई तिलाञ्जली दिएका छन्, कान्तिपुर दैनिकले खबर छापेको छ ।