माओवादी केन्द्रले आज देशैभर वडा सम्मेलन गर्दै


खबरस्टोरी संवाददाता
४ मंसिर २०७८, शनिबार
माओवादी केन्द्रले आज देशैभर वडा सम्मेलन गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शनिवार देशैभर वडा सम्मेलन गर्दैछ । प्रजातान्त्रिक अन्य पार्टीहरुजस्तै निर्वाचन गरेर नै वडादेखि नै नेतृत्व चयन गर्ने उद्देश्यले माओवादी केन्द्रले वडा सम्मेलन गर्न लागेको हो । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित निर्वाचनबाट नेतृत्व चयन गर्न लागिएको हो । 

निर्वाचनका लागि माओवादीले केन्द्रीय निर्वाचन आयोगसहित देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । 

आयोगकाअनुसार वडामा ३ सदस्यीय, प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । 

निर्वाचन आयोगको अध्यक्षमा पूर्व मानवअधिकारवादी संगठनका अध्यक्ष विष्णुपुकार श्रेष्ठ छन् । आयोग अध्यक्ष श्रेष्ठकाअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्दैछन् । 

शनिवार वडा सम्मेलन सकिएपछि मंसिर ११ गते पालिका र मंसिर २५ गते सात वटै प्रदेशमा प्रदेश सम्मेलन हुनेछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।