माओवादी केन्द्रीय समिति बैठक सुरू, नारायणकाजी श्रेष्ठ पनि सहभागी


खबरस्टोरी संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार
माओवादी केन्द्रीय समिति बैठक सुरू, नारायणकाजी श्रेष्ठ पनि सहभागी

काठमाडौं।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो । आज  बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरुको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु गरिएको हो । 

माओवादीको आजको केन्द्रीय समिति बैठकको प्रमुख एजेण्डा  पदाधिकारी चयन रहेको छ । त्यस्तै, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदनपछि बढेको आन्तरिक असन्तुष्टीले बैठकमा प्रवेश पाउने बताइएको छ ।

एमसीसीमा असन्तुष्ट नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरुले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् ।

त्यस्तै बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएको श्रेष्ठ निकट स्रोतले जनाएको छ ।