काठमाडौँ। नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अहिलेसम्म २० वटा समूहले प्रचण्डको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गरेका छन् । बन्दसत्रमा पाँचवटा समूहले आफ्नो प्रस्तुति राख्न भने बाँकी छ। पाँच समूहले सुझाव दिएपछि बिहीबार बेलुका प्रचण्डले जवाफ दिनेछन् ।
यस्तै नेतृत्व चयनका सम्बन्धमा छलफल गर्न स्थायी कमिटीको बैठक बस्दैछ। माओवादीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समिति मात्रै चयन गर्ने तयारी गरेमा निर्वाचन आयोगले नमान्ने भएपछि सबै पदाधिकारीसहित निर्वाचित गर्नु पर्ने भएको छ। सोही कारण माओवादीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी पनि गरेको छ।
माओवादी केन्द्रको आठौँ महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई नै पुनः चयन गर्ने निश्चित छ। अहिलेसम्म अध्यक्षमा कसैले दाबी गरेको छैन र प्रचण्डलाई पार्टीलाई अलपत्र पारेर बीचमै नेतृत्व छाड्न नपाइने भन्दै नेता कार्यकर्ताहरुले दबाबसमेत बढाउँदै आएका छन्।