माओवादीको चुनावी पोष्टरमा आफ्नो तस्वीर राखेकोप्रति घिसिङको आपत्ति


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
माओवादीको चुनावी पोष्टरमा आफ्नो तस्वीर राखेकोप्रति घिसिङको आपत्ति
काठमाडौं।  नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा अनुमति विना आफ्नो तस्वीर राखेपछि  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् ।  

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार विहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्वीर राखिएको थियो । 

पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् । 

‘मेरो तस्बिर नराख्नु भनेको थिएँ। मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नुभएछ। त्यसमा मेरो विमति छ।’ मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् ।  प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले भने । 

हाल माओवादीले स्थानीय तह निर्वाचनमा कुलमान घिसिङसहितको चुनावी प्रचार अभियानको पोस्टर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ।