काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा केन्द्रीय समिति सदस्यका लागि हुने भनिएको निर्वाचनको कार्यतालिका पुनः संशोधन भएको छ। संशोधित कार्यतालिकाअनुसार आइतबार अपराह्न ४ः०० बजेदेखि ६ः०० बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ भने ६ः३० मा उम्मेदवारको मनोनयन दर्ता सूची प्रकाशन गरिने छ।
यस्तै साँझ ७ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजूरी दिन सकिने छ। यसैगरी उम्मेदवारको नामावली पुनः प्रकाशन ८ः०० बजे गरिने छ भने साढे आठ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ। ८ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। सोमबार बिहान ८ः०० बजेदेखि दिउँसो १ः२५ सम्म मतदान हुनेछ। मतदान सकिएको एक घण्टापछि मतगणना सुरु गरिने माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। शनिबार पहिलो पटक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको माओवादीले यो तेस्रो पटक ल्याएको निर्वाचन कार्यक्रम हो ।