मिराज ढुंगानाको जेनजी समूह सडक आन्दोलनमा


खबरस्टोरी संवाददाता
७ पुष २०८२, सोमबार
मिराज ढुंगानाको जेनजी समूह सडक आन्दोलनमा

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानाको समूहले ले सोमवारदेखि सडक आन्दोलन थाल्ने भएको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सोमवारदेखि ‘संयुक्त जेनजी आन्दोलन’ घोषणा गरेको थियो । ढुंगानाको समूहले राज्य पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीलाई कारबाही, सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जनसभा गरी संविधान पुनर्लेखनका माग राखेको छ । 

ढुंगानाले जेनजीहरूमाथि लगाइएका मुद्दा खारेज तथा धरपकड बन्द गर्नुपर्ने, जेनजी आन्दोलनमा भएको मानवअधिकार उल्लंघन र घातक दमनको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने पनि आन्दोलनको एजेन्डा रहेको बताएका छन् । गैरआवासीय नेपालीप्रतिको राज्यको संकुचित दृष्टिकोणमा परिमार्जन हुनुपर्ने र विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुको छ । 

यस्तै उखु किसान, मिटरब्याजपीडित, सहकारीपीडित, लघुवित्त पीडितलगायतको ठगी, हिंसा र शोषणका घटनाहरुको तत्काल छानबिन गरी दोषीहरुमाथि कारबाही र पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरुले राखेका छन् ।