निजगढमा विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन


खबरस्टोरी संवाददाता
१४ जेष्ठ २०७९, शनिबार
निजगढमा विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं।  सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । 

शनिबार निजगढ विकास पक्षधरहररूको आयोजनामा माईतीघरमा सर्वोच्चको निर्णयविरुद्ध  प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीले ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’, ‘वातावरणको नाममा विकास रोक्न पाइदैन’, ‘के विकास र समृद्धि अधिकार होइन ?’ जस्ता नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनका सहभागीहरूले अदालतको निर्णय गलत रहेकोले भन्दै सच्चाउन माग गरे । उनीहरुले निर्णय नसच्चिएसम्म नियमित आन्दोलनका कार्यक्रम बढाउदै लैजानेसमेत बताए । अदालतको आदेशविरुद्ध जस्तोसुकै आन्दोलन गर्न बाराका जनता तयार रहेको समेत उनीहरुले बताए । 


त्यस्तै सर्वोच्च अदालतले तुरुन्तै निर्णय नसच्चाए कडा रुपमा नियमित विरोध कार्यक्रम गर्ने आयोजकको भनाइ छ ।  बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदिएको थियाे । वातावरणीय कारण देखाएर  अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।


वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यताअनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो ।