नेपालको खेल क्षेत्रमा सहयोग गर्ने रसियाली खेलमन्त्रीको प्रतिवद्धता


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
नेपालको खेल क्षेत्रमा सहयोग गर्ने रसियाली खेलमन्त्रीको प्रतिवद्धता
काठमाडौं । रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेट गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबैदेशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया ईच्छुक रहेको बताएका थिए । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।  

भेटमा बोल्दै मन्त्री गहतराजले नेपाल र रसिया बिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरे । उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए । 

नेपालको खेलकुद क्षेत्रको विकासमा रसियाले देखाएको चासोप्रति कृतज्ञता ब्यक्त गर्दै मन्त्री गहतराजले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” फलदायी हुनेमा विश्वास ब्यक्त गरे । 

सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कुटनीतिमा समेत आधारित हुने बताएका थिए । 

यसैबीच, नेपाली प्रतिनिधी मण्डलले रसियाका मार्सल आर्टस संघका अध्यक्ष र अन्तराष्ट्रिय बक्सिङ्ग संघका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिए ।