नारायणकाजी फकाउँदै प्रचण्ड


खबरस्टोरी संवाददाता
२१ फाल्गुन २०७८, शनिबार
नारायणकाजी फकाउँदै  प्रचण्ड
काठमाडौ । अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएपछि एकाएक असन्तुष्ट बनेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड लागिपरेका छन् ।दुई नेताबीच आज (शनिबार) पनि छलफल भएको छ। 

सुरुमा एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गराउने जोडबलमा लागेपछि वरिष्ठ नेता श्रेष्ठ समूहसहित पार्टी नै छाड्ने मनस्थितिमा पुगेका थिए। तर अध्यक्ष प्रचण्डले उनलाई फकाउने प्रयास गरिरहेका छन्। 

यस क्रममा नेता श्रेष्ठले हिजो शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा फरक मत प्रस्तुत गरेका छन्। उनले एमसीसीमा राष्ट्रघाती नै रहेको जिकिर गर्दै त्यसलाई संसदबाट अनुमोदन गरेर माओवादी केन्द्रले राष्ट्रिय आत्मसमर्पण गरेको भनेर फरक मत समेत पेश गरेका छन्। 

भोलि आइतबार पनि माओवादी केन्द्रको बैठक बस्दै छ। त्यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता श्रेष्ठबीच आज दिउँसो प्रचण्डको निवास (खुमलटार) मा एक घण्टा संवाद भएको छ।यसअघि एमसीसी अनुमोदन निर्णयविरुद्ध नारायणकाजीले सार्वजनिक अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले पार्टी छाड्ने हो भने छाडे हुन्छ भन्ने आशयको टिप्पणी गरेयता दुई नेताहरुबीच विवाद उत्पन्न भएको थियो ।