वैशाख १ लाई नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छन् । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै मुलुकको समृद्धिको कामना गरेका छन् ।
राष्ट्रपति भण्डारीले विगतको कठोर अनुभवबाट पाठ सिकेर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन् । उनले व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।
उपराष्ट्रपति पुनले नयाँ वर्षले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न आग्रह गरेका छन् ।
यो वर्षलाई सुखद बनाऔं ः ओली
नयाँ वर्षको अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको भन्दै यो वर्षलाई सुखद बताउनुपर्ने बताएका छन् ।
गत वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय भएको ओलीको आरोप छ । ओलीले यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख रहेको पनि शुभकामना सन्देशमा लेखेका छन् ।
‘यो वर्ष निर्वाचनको वर्ष हो । गठबन्धनवालाहरु जे जति दाउपेच र षडयन्त्रमा पारङ्गत भए पनि चुनावबाट भाग्ने ठाउँमा छैनन् । जनादेश नै यस्ता निकम्मा र राष्ट्रहित प्रतिकूल तत्वलाई परास्त र दण्डित गर्ने माध्यम हो ।’– उनले भनेका छन् ।
प्रचण्डको नयाँ वर्षको शुभकामनाः गठबन्धनका उम्मेदवारलाई जिताउँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष विसं २०७९ को शुभकामना दिँदै गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।
‘नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु,’ प्रचण्डले सन्देशमा भनेका छन् ।
देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको प्रचण्डले उल्लेख गरेका छन् ।
माधव नेपालको शुभकामनाः राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष बनोस्
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव हुने चुनावी वर्षको रुपमा रहेको २०७९ साल देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश जारी गर्दै नेपालले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको साथमा हुने बताएका छन् ।
समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्ने विश्वस्त ब्यक्त गर्दै नेपालले यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएको सन्देशमा भनेका छन् ।
उनले वितेको वर्ष २०७८ देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षको रुपमा स्मरणीय रहने भन्दै अघिल्लो साविकको आफ्नै पार्टीको नेतृत्वप्रति आक्षेप लगाएका छन् । ‘नयाँ वर्ष २०७९ को शुरुवातसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ,’ उनले भनेका छन् ।
कांग्रेसमा एकता आवश्यकः कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन पार्टी भित्रको आन्तरिक एकतामा जोड दिएका छन् ।
उनले सबैको क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित रहको भन्दै केन्द्रदेखि गाउँसम्म अब विभाजित नभई निर्वाचनमा लाग्नुपर्ने बताए । उनले पार्टीभित्र भएका मतभेद र मतभेदलाई पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने जनाउँदै पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै जाने बताएका छन् ।