काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी कार्यदिशा र कार्यक्रमसहितको राजनीतिक प्रतिवेदन पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्। उनले राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। ओलीको चरम व्यक्तिवादी अहंकार, निरंकुश ढंगबाट सरकार र पार्टी सञ्चालन गर्न खोज्दा पार्टीभित्र अन्तरसंघर्ष चलेको र पार्टी विभाजन भएको प्रतिवेदनमा दाहालले उल्लेख गरेका छन्।
ओलीको दलाल पुँजीपतिका अघि आत्मसमर्पण गर्ने चरित्रले पार्टी एक रहन नसकेको उनको ठहर छ। पार्टीभित्र आफ्नो हार हुने देखेपछि ओलीले संसद विघटन गरेको प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
प्रचण्डले कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रसंशा गरेका छन् । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीको कटू आलोचना गरे पनि शान्तिवार्ताको लागि सहयोगी भूमिका खेलेका तत्कालिन एमाले महासचिव माधव नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालाको प्रशंसा गरेका हुन् । बन्दसत्रमा अहिले स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गरिरहेका छन्। साथै उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।