पैसा छ भनेर अर्थमन्त्रीले धाक लगाएको ओलीको आरोप


खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
पैसा छ भनेर अर्थमन्त्रीले धाक लगाएको ओलीको आरोप
काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग पैसा नभएको दाबी गरेका छन्। मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पैसा छ भनेर अर्थमन्त्रीले धाक लगाएको आरोप लगाए। 

कार्यक्रमबीच ओलीले प्रश्न गर्दै भने,'हिजो अर्थमन्त्रीले धाक लगाए हामीसँग यति अर्ब छ भनेर। अनि बजेट किन कटौती गरेको त? योजना किन काटेको त? ठेकेदारलाई बजेट किन निकासा नगरेको? उसले काम गरिसकेको भुक्तानी किन नदिएको? नयाँ नयाँ आयोजनाहरु किन नगरेको?', 

उनले पैसा छ भन्ने, काम केही नगर्ने गरेको भन्दै सरकारको आलोचना समेत गरे। पैसा आउने गरी यो सरकारले कामै नगरेकाले सरकारसँग पैसा नभएको उनको भनाइ छ।

त्यस्तै ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गरे। 'भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।' ओलीले भने ।