काठमाडौंको खुलामञ्चमा शुक्रबार राप्रपाले गरेको आमसभामा बोल्दै राणाले नेपालले नेपाल हिन्दु राष्ट्र बनाएरै छाड्ने उद्घोष गरे ।
‘हामी हिन्दु राष्ट्र बनाएरै छाड्छौं । नेपाल हिन्दुराष्ट्र हुनुपर्नेछ भनेर ९५ प्रतिशत हिन्दु नेपालीले भोट हाल्नेछन्’, जबराले भने, ‘नेपाल हिन्दु राष्ट्र बन्छ, बन्छ ।’
नेपालमा गणतन्त्र ल्याएकाहरु भ्रष्टाचारमा लिप्त भएको भन्दै नेता राणाले यस्ता भ्रष्ट नेताहरुलाई पराजित गर्न अपिल गरे ।
तल पनि घुसखोरी, माथि पनि घुसखोरी
राप्रपा नेता जबराले माथिदेखि तलसम्म घुसखोरी बढेको बताए । ‘तल पनि घुसखोरी, माथि पनि घुसखोरी छ’, राणाले भने, ‘अहिले नेपालमा घुसखोरीको पहाड बन्न थालेको छ ।’
नेता राणाले आसन्न निर्वाचनमा वडाअध्यक्ष र सदस्यले वडामा समेत लाख लाख खर्च गर्ने चुनाव जित्ने तयारी गरेको दाबी गरे ।
उनले अघिल्लो निर्वाचनमा राप्रपाले जितेको ठाउँमा इमान्दारितापूर्वक काम गरेको पनि दाबी गरे ।
एमसीसी राष्ट्रघाती नै हो
राप्रपा नेता राणाले नेपालमा आएको एमसीसी राष्ट्रघाती नै भएको बताए । आम नेपालीले एमसीसी राष्ट्रघाती नै हो भन्दा भन्दै पनि जबर्जस्ती एमसीसी पास गर्ने काम भएको पनि उनले बताए ।
अरुसँग भिख मागेर कोही पनि धनी हुन नसक्ने तर्क गर्दै राणाले विदेशीसँग मागेर देशको विकास सम्भव नहुने उल्लेख गरे ।