काठमाडौं । रास्वपाले अघि सारेको सहमतिको प्रस्ताव उज्यालो नेपाल पार्टीले अस्वीकार गरेको छ ।
शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो ।
रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावबारे संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गरेका थिए । तर, रास्वपाको उक्त प्रस्तावमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एकताको बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय सो पार्टीले गरेको छ ।
पार्टीको नाम र चुनाव चिन्हमा रास्वपाको प्रस्तावमा उज्यालो पार्टीले फरक मत राखेको छ ।
रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए । जसमा पुनर्विचार गरेर मात्रै निर्णय लिने उज्यालो पार्टीको अडान छ ।
पार्टी निर्णयहरू सार्वजिनक गर्दै सो पार्टीले सहअस्तित्वको विषयलाई मुख्य बुँदा बनाएको छ ।
पार्टीले प्रस्ताव अस्वीकार गर्ने निर्णय गरे पनि काठमाडौं महानगरका मेयर बालेनले कुलमानसँगको छलफल जारी नै राखेका छन् ।
शनिवार बेलुकातिर उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख शाहबीच फेरि छलफल सुरु भएको थियो ।
विहान उनीहरूबीच छलफल भएको बालुवाटारस्थित एक निजी निवासमा नै उनीहरु छलफलमा जुुटेका थिए ।