राष्ट्रहितविपरीतका सम्झौतामा हस्ताक्षर गर्दिनँ – प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
राष्ट्रहितविपरीतका सम्झौतामा हस्ताक्षर गर्दिनँ – प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितविपरीतका विषयमा सम्झौता नगर्ने बताएका छन्।

बुधबार बिहान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आश्वासन दिँदै देउवाले सो कुरा बताएका हुन्।

अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनर प्रोग्राम (एसपीपी) प्रस्तावमा हस्ताक्षर गर्नेगरी प्रधानमन्त्री देउवा सकारात्मक रहेको समाचार सार्वजनिक भएपछि गठबन्धनका शीर्ष नेताहरुले बालुवाटार पुगेर यसबारे धारणा मागेका थिए।छलफलमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

प्रधानमन्त्री छिट्टै अमेरिका भ्रमणमा जाँदैछन्, अमेरिकी सेनाले एसपीपी मस्यौदामा हस्ताक्षर गर्न ताकेता गरिरहेको छ।

तीन दिने नेपाल भ्रमणमा गत विहीबार आएका युएस आर्मी प्यासिफिक कमान्डर जर्नेल चार्ल्स ए फ्लिनले नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सेनाको एसपीपीमा नेपाली सेनाले हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका थिए। १० धारा, ६ पृष्ठमा समेटिएको मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ।