काठमाडौं । राष्ट्रियसभाको रिक्त रहेको १८ सदस्यका लागि आइतबार निर्वाचन हुँदैछ । आइतबार हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभाका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । त्यसका लागि निर्वाचन आयोगले निर्वाचनलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकिएको जनाएको छ ।
आयोगले राष्ट्रिय सभा निर्वाचनको परिणाम समेत आइतबारनै सार्वजनिक गर्ने जनाएको छ। राष्ट्रिय सभाका लागि हुने १८ जना सदस्यका लागि पाँचवटा राजनीतिक दलको ४४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । तर कांग्रेस, एमाले र जसपा नेपालले गठबन्धन गरेर सिट भागबण्डा गरिसकेका छन् ।
तीन दलबीचको सहमति अनुसार कांग्रेसलाई ९ एमालेलाई ८ र जसपा नेपाले १ सिट भागबन्डा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चा एक्लै चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिका प्रमुख उपप्रमुख तथा गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेका छन् ।
प्रदेशसभा सदस्यको मतभार ५३ रहेको छ भने पालिका पालिका तथा गाउँपालिका प्रमुख उप्रमुखको मतभार १९ रहेको छ । कोशी र लुम्बिनी प्रदेशमा ३–३ जनाका लागि निर्वाचन हुँदैछ भने मधेस प्रदेशमा ४ सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसैगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २–२ जना गरी १८ जना राष्ट्रिय सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
रिक्त १९ मध्ये एक सदस्य भने सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनित गर्नेछन् । यसअघि राष्ट्रपतिबाट मनोनित एक सहित १९ जनाको पदावधि आगामी फागुन २० गते सकिदैछ ।