समानुपातिक निर्वाचन प्रणालीको वास्ताविक मतपत्र सार्वजनिक


खबरस्टोरी संवाददाता
१८ माघ २०८२, शनिबार
समानुपातिक निर्वाचन प्रणालीको वास्ताविक मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशको क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । 

त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । 

उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठुलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । 

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेको छ ।