काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको समानुपातिकतर्फको बन्दसूचीमा ईश्वर पोखरेललाई एक नम्बरमा राख्न उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले सुझाव दिएका छन् ।
च्यासलमा बसेको सचिवालय बैठकमा गुरु बरालको नाम खुला तर्फको एक नम्बरमा ओलीले प्रस्ताव गरेका थिए । तर पार्टीमा एकताको सन्देश दिन पनि ओलीले राखेको प्रस्ताव संशोधन गर्नुपर्ने विष्ट र भट्टराईले तर्क राखेका थिए । विष्ट र भट्टराई एमालेको ११ औं महाधिवेशनबाट ईश्वर प्यानलबाट निर्वाचित भएका हुन् । ईश्वर प्यानलबाट सबैले पराजय ब्यहोर्दा पदाधिकारीमा विष्ट र भट्टराई मात्र निर्वाचित भएका थिए ।
भर्खरै महाधिवेशन सकिएको र अध्यक्षमा प्रतिस्पर्धा गरेका पोखरेललार्य खुलातर्फ एक नम्बरमा राखेर जाँदा सकारात्मक सन्देश जाने तर्क भट्टराईको थियो । ओलीले प्रस्ताव गरेका बराल मनोनीत र समानुपातिक सूचीमा पटकपटक बस्दै आएका ब्यक्ति हुन् ।
सुवास नेम्वाङको निधनपछि ओलीले उपाध्यक्ष मनोनीत गरेका बराल एघारौं महधिवेशनमा सोही पदमा उम्मेदवार थिए । तर उनी उपाध्यक्ष र केन्द्रीय सदस्यमा समेत पराजित भए । ओली प्यानल भारी अन्तरले अघि हुँदा हुँदै बराल पराजित हुँदा उनी पार्टीमा निकै अलोकप्रिय रहेको पुष्टी गरेको छ । सोमवार पेश गर्नुपर्ने समानुपातिक सूचीमा बराललाई ओलीले एक नम्बरमा प्रस्ताव गरेका छन् । विष्ट र भट्टराईले बरालको नाम संशोधन गर्न सुझाव दिएका हुन् ।