सङ्घीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने कर्मचारी पनि छन्: अध्यक्ष प्रचण्ड


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
सङ्घीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने कर्मचारी पनि छन्: अध्यक्ष प्रचण्ड
काठमाडौँ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको बताएका छन् ।

राजनीतिक नेतृत्वले जनताका पक्षमा गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समिति बैठकलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए ।

परिवर्तन संस्थागत गर्ने सङ्घर्षमा हामी सबैको साझा प्रयास र सङ्कल्प आवश्यक रहेको उनको भनाइ छ । विगतमा विभिन्न कारणले फरकफरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाँउमा उभिने वातावरण बन्दै गएकामा अध्यक्ष दाहालले प्रसन्नता व्यक्त गरे।

पार्टी टुटफुट हुँदा विभिन्न समूहमा विभक्त भएका पूर्वमाओवादी क्रमशः एकीकृतरुपमा अगाडि बढ्ने वातावरण कर्मचारी सङ्गठनमा पनि बनेकामा अध्यक्ष दाहालले खुसी व्यक्त गरे। 

सङ्घीय निजामति विधेयकलाई कर्मचारीकै माथिल्लो तहबाट अवरोध भएको भन्ने खबर आफूले प्राप्त गरेको भन्दै उनले त्यस प्रवृत्तिका विरुद्ध दबाव दिन कर्मचारीलाई अनुरोध गरे ।