काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट मनोनित केन्द्रीय कमिटीको बैठक सानेपामा सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा चलिरहेको बैठकले पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ।
माओवादीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ। एकएक जना अध्यक्ष, महासचिव र कोषाध्यक्ष, एक वरिष्ठसहित सात उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिवको नाम बैठकले टुंग्याउनेछ। यसअघि आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २३६ जनाको नाम केन्द्रीय सदस्यका लागि सिफारिस गरेका थिए। २९९ केन्द्रीय सदस्यमध्ये अहिले २३६ जनाको नाम टुंग्याइएको हो। केन्द्रीय सदस्यमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जनाको नाम टुंग्याइएको हो। २९९ केन्द्रीय सदस्यमा समानुपातिकतर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम अहिले घोषणा भएको हो।
अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन्।