काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको पुरानो क्षेत्र छाडेर मधेस झरेका नेपाली कांग्रेसका सभापति गगन थापा भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा खडा गरेको छ ।
विगत ४८ सालदेखि नै मधेसलाई आधार क्षेत्र बनाएर सत्ता राजनीतिमा पुग्ने गरेको कांग्रेस ६४ सालपछि भने मधेसवादी दलहरुको बर्चश्वका कारण अपेक्षित भोट पाउन सकेको छैन । भदौ २३ को युवा विद्रोहपछि फागुन २१ मा हुन लागेको निर्वाचनमा ७९ सालदेखि उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा पनि उभार ल्याउन खोजिरहेको छ ।
७९ सालमा काठमाडौं, चितवन लगायतका शहरमा अप्रत्याशित मत बटुलेको रास्वपामा भने एक लाख मत पनि ल्याउन सकेन । यसपाली काठमाडौंको मेयर छाडेर संसदीय राजनीतिमा प्रवेश गर्न खोजेका बालेन शाहलाई भावी प्रधानमन्त्रीको घोषणा गरेसँगै मधेसको पुत्रका रुपमा चर्चा भइरहेको छ ।
तर मधेसको ३५ लाख बढी भोट सुरक्षित गर्नकै लागि कांग्रेस सभापति गगन थापा मधेस झरेका हुन् । आफ्नो बलियो संगठन रहेको सर्लाही ४ लाई गगनले रोजे पनि त्यही क्षेत्रबाट डा.अमरेशकुमार सिंह चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा कांग्रेसको बागी उम्मेदवारका रुपमा चुनाव जितेका सिंह रास्वपाको टिकटबाट यसपाली गगनविरुद्ध नै प्रतिष्पर्धामा उत्रिएका छन् ।
फागुन २१ को निर्वाचनका लागि १ लाख २१ हजार १२ जना कुल रहेको सर्लाही ४ का अधिकांश मतदानस्थल पनि अति संवेदनशिल मानिएका छन् ।
निर्वाचन आयोगले नै अति संवेदनशिल सूचीमा राखेको यो क्षेत्रमा गगनले सहज जित निकाल्ने दाबी गरे पनि रास्वपाको लहरका कारण आफ्नो जित झनै सहज भएको अमरेशको तर्क छ ।
अघिल्लो निर्वाचनको गणित
२०७९ को निर्वाचनमा कांग्रेसको बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका अमरेश २० हजार १७ मतका साथ निर्वाचित भएका थिए । उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३ मत प्राप्त गरे । अर्की स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादव पनि नागेन्द्रको पछिपछि देखिइन् । उनले १४ हजार ६२२ मत ल्याएकी थिइन् ।
यो क्षेत्रबाट एमालेले रविशंकर कुशवाहलाई उठाएको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट रगनिश राय यादव उम्मेदवार छन् । यस्तै, राप्रपाले यो ठाउँबाट प्रदीप झालाई उठाएको छ । सबै दलले नै मधेसकै स्थानीय उम्मेदवार खडा गरे पनि यो क्षेत्रमा गगन र अमरेशबीच नै मुख्य प्रतिष्पर्धा हुने चर्चा छ । ४८ सालको निर्वाचनदेखि नै कांग्रेसको बलियो आधार क्षेत्र मानिएको सर्लाही ४ मा गगनलाई मुश्किल पर्ने विश्लेषणहरु भइरहेका छन् ।
विगतमा अमरेश कांग्रेसमा हुँदा भारतका दूतका रुपमा मानिन्थ्यो । गिरिजाबाबुसमेतलाई भारतीय संस्थापनसँग भेट गराउन अमरेशले नै भूमिका खेलेका थिए । अहिले रास्वपाबाटै अमरेशले टिकट लिएका कारण भारतीय संस्थापनको साथ रास्वपालाई भएको विश्लेषण भइरहेको छ । साँच्चिकै भूराजनीतिक प्रभाव पर्ने अवस्था बनेमा भने गगनको मात्र होइन, मधेसमा कांग्रेसको अघिल्लो निर्वाचनको मत समेत सुरक्षित नहुने निश्चित छ ।