स्वतन्त्र जनप्रतिनिधि दलहरुलाई काममा सहयोग गरौँ : विश्वप्रकाश शर्मा


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
स्वतन्त्र जनप्रतिनिधि दलहरुलाई काममा सहयोग गरौँ :  विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको हितमा काम गर्न स्वतन्त्र रुपमा चुनाव लडेर छानिएका जनप्रतिनिधिहरुलाई सहयोग गर्नुपर्ने बताएका छन्। 

सोमबार बिहान आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमार्फत शर्माले धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका हर्क साङपाङसहितका स्वतन्त्र जनप्रतिनिधिहरुलाई बधाई दिँदै उनीहरुलाई काममा सहयोग गर्नुपर्ने जोड दिएका छन् ।

धरान, बर्दिबास, धनगढीसहितका स्थानीय तहमा स्थापित राजनीतिक दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी भएपछि कतिपयले उनीहरुलाई राजनीतिक दलको दबदबा रहेका ठाउँमा उनीहरुले कसरी काम गर्लान् भन्ने जस्ता प्रश्न गरिरहेका छन्। 

माओवादीप्रति लक्षित गर्दै शर्माले ‘बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेट’ बाट आएकालाई सहज आत्मसात गर्नुपर्ने बताए । धरान–धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरुलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ,’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘कसरी काम गर्लान्? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनु पर्छ।’