संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज हुने सुनुवाइ अन्यौलमा


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज हुने सुनुवाइ अन्यौलमा
काठमाडौँ।  संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुन लागेको थियो। अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । 

संवैधानिक इजलासमा उक्त पेसी चढेको भएपनि बुधबार नै अपरान्ह न्यायपरिषदको आकस्मिक बैठक बोलाइएकाले खाजा समयपछि संवैधानिक इजलास पुनः बस्ने वा नबस्ने टुङ्गो छैन ।

  बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ ।  अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै २०७७ मंसिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मंसिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अध्यादेशबाट ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसकै आधारमा भएको नियुक्ति बदर गर्न माग गर्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 यसअघि उक्त मुद्दामा संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी भएको थियो । यद्यपि वादीले अन्तरिम आदेशको माग गरेपनि अन्तरिम आदेश जारी नहुने आदेश दिइएको थियो । म्याद तामेलीका समय सकिएपछि बुधबारको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइको मिति तोकिएको हो ।