श्रीमान श्रीमति नै केन्द्रिय सदस्य बनेका माओवादी नेताहरुको कथा


खबरस्टोरी संवाददाता
१९ पुष २०७८, सोमबार
श्रीमान श्रीमति नै केन्द्रिय सदस्य बनेका माओवादी नेताहरुको कथा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौंं राष्ट्रिय महाधिवेशनले पार्टीको केन्द्रिय सदस्यको नामावली प्रकाशन गरेको छ ।माओवादीको आइतबार सकिएको महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । बाँकी ६६ जना केन्द्रीय सदस्य अध्यक्ष प्रचण्डले मनोनित गर्ने भनिएको पार्टीको केन्द्रिय समितिमा यस पटक पनि विगतकै जस्तो अधिंकाश पुरानै अनुहार दोहोरिएका छन् ।

लामो समयदेखि निरन्तर एउटै पदमा रहेर पनि भुमिका निर्वाह गर्न नसकेका विवादित व्यक्तिहरु पुन केन्द्रिय समितिमा दोहोरिएपछि आम कार्यकर्तामाझ एक खालको नैराश्यता उत्पन्न भएको छ । यतिबेला आम कार्यकर्ताका गुनासाहरु पोख्ने थलो बनेको छ, सामाजिक सञ्जाल ।त्यसो त पार्टीमा व्यक्तिवादी प्रवृति, नातावाद ,अपादर्शीता लगायत परिवारवादको विषयलाई समेत जोडेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेदमा फरक मत राखेका नेता लेखनाथ न्यौपानेले भनेझै नेताका परिवार त्यसमा पनि एकै घरका श्रीमान श्रीमति गरि झण्डै एक दर्जन जोडीहरु केन्द्रिय समितिमा परेका छन् ।

यसमध्ये अधिंकाश जोडिहरु विगतमा पनि पार्टीको केन्द्रिय समितिमा थिए,र यसपटकको आठौंं राष्ट्रिय महाधिवेशनमा पनि ति जोडिहरुसहित अन्य केहि नयाँ जोडिहरु थपिएका छन् ।

  

१.लीलामणि पोख्रेल र शशि श्रेष्ठ

नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी उनकी पत्नी शशी श्रेष्ठ दुवै केन्द्रीय सदस्य बनेका छन् । पोखरेल खुला तर्फबाट केन्द्रीय सदस्य बनेका छन् भने पत्नि श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।


२.वर्षमान पुन र ओनसरी घर्ती

पूर्वमन्त्री वर्षमान पुनका पनि श्रीमान् श्रीमती नै केन्द्रीय कमिटीमा परेका छन् । वर्षमान खुल्लातर्फबाट केन्द्रीय सदस्य बनेका छन् भने उनकी श्रीमती पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती जनजाती महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् । हाल उनीहरु दुबै नेता पुनको स्वास्थ्य उपचारको क्रममा देशबाहिर छन् ।


३.देव गुरुङ र यशोदा गुरुङ

अर्का माओवादीका प्रभावशाली नेता देव गुरुङका पनि श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बनेका छन । नेता गुरुङसँगै उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाटै केन्द्रीय सदस्य बनेकी छन् ।


४.देवेन्द्र पौडेल र बलावती शर्मा

त्यस्तै हालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका नेता देवेन्द्र पौडेल र उनकी पत्नी बलावती शर्मा पनि केन्द्रीय सदस्य बनेका छन् । पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्य भएकी छन् ।


५.शक्ति बस्नेत र सत्या पहाडी

पूर्व गृहमन्त्रीसमेत रहेका माओवादीका अर्का नेता शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी पनि पार्टीको केन्द्रीय सदस्य भएका छन् । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा परेका छन् भने श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् । उनी पनि पुर्वमन्त्री हुन् ।


६.हितमान शाक्य र अमृता थापा

विगतमा झै यो पटक पनि केन्द्रिय समितिमा पर्न सफल पतिपत्नि हुन हितमान शाक्य र अमृता थापा 

नेता शाक्य खुला तर्फबाट केन्द्रीय सदस्य बनेका छन् भने उनकी पत्नी अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्य बनेकी छन् ।


७.गणेशमान पुन र कमला रोका

पूर्व वाइसिएलका नेता गणेशमान पुनको पनि श्रीमान् श्रीमती नै केन्द्रीय कमिटीमा समेटिएका छन् । खुल्लाबाट केन्द्रीय सदस्य बनेका नेता पूनकी पत्नि कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् ।


८.कुलप्रसाद केसी र ताराकुमारी घती

नेता कुलप्रसाद केसी र उनकी पत्नी ताराकुमारी घर्ती पनि केन्द्रीय सदस्य बनेका छन्। केसी खुल्लाबाट केन्द्रीय सदस्य बनेका हुन् भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् ।


९.कृष्णध्वज खड्का र रेखा शर्मा

नेता कृष्णध्वज खड्का र उनकी पत्नी रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा पर्न सफल जोडी हुन् ।

खड्का र शर्मा दुवै खुल्लातर्फबाट केन्द्रीय सदस्य भएका हुन्।


१०.दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ

त्यसैगरी पुर्व वाइसिएलका नेता दिलीप प्रजापतिका पतिपत्नि दुवै नै केन्द्रिय समितिमा परेका छन् ।उनकी पत्नी प्रतिमा श्रेष्ठ पनि केन्द्रीय सदस्य बनेकी छन् ।

११.विश्वनाथ साह र सीता पोखरेल

त्यसैगरी नेता विश्वनाथ साह र उनकी पत्नी सीता पोखरेल पनि केन्द्रीय सदस्य बनेका छन्। साह खुलाबाट र पोखरेल खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन्।


१२.देवेन्द्र पराजुली र कल्पना धमला

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष देवेन्द्र पराजुली र उनकी पत्नी कल्पना धमला पनि केन्द्रीय सदस्य बनेका छन्। पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय सदस्य भएकी हुन्।


१३. सूर्य सुवेदी र ज्ञानु बस्नेत

 त्यसै गरि पार्टी केन्द्रिय सदस्य बनेका अर्का जोडी हुन् सूर्य सुवेदी र ज्ञानु बस्नेत । भर्खरै मात्र माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलको सल्लाहकार समेत रहिसकेका सुवेदीसँगैं नेता शक्ति बस्नेतकी बहिनी ज्ञानु बस्नेत पनि केन्द्रिय सदस्य बनेकी छन् ।