दर्शक–स्रोताको मन दुखाएर रास्वपामा लागे प्रकाश सपुत


खबरस्टोरी संवाददाता
१४ माघ २०८२, मंगलवार
दर्शक–स्रोताको मन दुखाएर रास्वपामा लागे प्रकाश सपुत

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत समानुपातिक उम्मेदवारको बन्द सूची पेश भएको झण्डै एक महिनापछि बल्ल खुलेका छन् । निर्वाचन आयोगले समानुपातिकको बन्द सूची पेश गर्ने समय अन्तिम दिन पुस १४ गते तोकेको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा सपुतको पनि नाम रहेको छ । रास्वपाले दलित कोटाबाट समुतको नाम समानुपातिकको बन्द सूचीमा पेश गरेको छ । 

रास्वपा उम्मेदवार भएर पनि झण्डै एक महिनासम्म मेला महोत्सवमा रमाएका सपुतले मेला महोत्सव सकिएपछि बल्ल पार्टीको चुनावी अभियानमा लाग्ने घोषणा गरेका छन् । 

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बालेन्द्र शाह र रवि लामिछानेसँगैको फोटो समेत पोष्टाएका छन् । 

‘सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने/सहयोग गर्ने निधो गरेको छु ।’– उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

दुःख, संघर्ष, मेहनत र धैर्यताले टिकाएको आफ्नो कला सिर्जनामार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक श्रोताको मन दुखाएर रास्वपासँग हातेमालो गर्न लागेको पनि बताएका छन् । उनले यो यसलाई पेशा र व्यावसायिक हिसाबले आफ्नो जीवनकै कठोर निर्णय भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक श्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ ।’

उनले लेखेका छन्– ‘हामीले सामाजिक सञ्जालमा देखे जस्तो उनीहरु उग्र र उत्तेजित छैनन्, बरु शान्त छन तर, निरास छन् । नेता र निर्वाचन प्रति उनीहरुको विश्वास उडिसकेको छ  । यद्यपि तपाईहरुको उदय संगै मैले जस्तै अब ‘अन्तिम पटक’ कसैलाई विश्वास गर्दैछन् । मैले देखे उत्साहित छन् तर ढुक्क  छैनन्  । थुप्रै प्रश्न र डर सहित केवल आशावादी छन्  । “जो आए पनि सबै उस्तै हुन’’ भन्ने मनोविज्ञान छ । तपाईहरु किन ‘सबै उस्तै’ मध्य होइन ? किन फरक हो ? किन आउनुभयो ? बुझाउनु पर्नेछ ।’– सपुतले लेखेका छन् । 

उनले रास्वपामा विचार सिद्धान्त नभएको पनि प्र्रष्ट्याएका छन् । ‘अब विचारको भारी होइन सुधार, विकास र समृद्धिको जिÞम्मेवारी बोक्नु पर्नेछ । कम्तिमा तपाईहरुको नेतृत्वमा यो देशको सुधार हुनेछ र समृद्ध नेपालको  शुरुवात मात्रै भए पनि हुनेछ ।’ मुलुकको सुधार र समृद्धिको यात्रामा रवि र बालेनलाई खबरदारी गर्दै साथी र साक्षी हुन आएको उनले स्पष्ट गरेका छन् ।