देउवा-ओलीको एउटै श्वरः चुनावमा जान्छौं, सुरक्षा खोई ?


खबरस्टोरी संवाददाता
१२ पुष २०८२, शनिबार
देउवा-ओलीको एउटै श्वरः चुनावमा जान्छौं, सुरक्षा खोई ?

काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुले प्रतिवद्धता जनाएका छन् । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् । यद्यपी निर्वाचनमा जाने प्रतिवद्धता जनाए पनि देउवा र ओलीले भने सुरक्षा चिन्ता ब्यक्त गरेका छन् ।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रमुख ३ दल नै चुनावमा जान तयार भएको तर सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने बताए । एमाले पनि चुनावमा जान तयार भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा पनि देउवाले एमाले पनि चुनावमा जान्छ भन्ने प्रतिक्रिया दिएका हुन् । 

जेनजी आन्दोलनका क्रममा बालुवाटारबाटै सेनाको हेलिकोप्टर चढेर भागेका ओली शनिवार पहिलो पटक बालुवाटर प्रवेश गरेका हुन् । यसअघि राष्ट्रपतिको समन्वयमा शितल निवासमा प्रधानमन्त्रीसँग प्रमुख ३ दलका शीर्ष नेताले छलफल गरेका थिए । उक्त छलफलमा पनि सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै नेताहरुले सुरक्षा चिन्ता ब्यक्त गरेका थिए । 

बालुवाटारको छलफलपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले छलफलमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने सामूहिक प्रतिबद्धता व्यक्त गरेको बताए ।

तीनवटै पार्टीका प्रमुख नेताहरूले फागुन २१ को चुनावमा जान तयार रहेको सन्देश दिएको तर त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने बताएको बताए ।