विवेकशील साझाद्धारा काठमाडौं घोषणापत्र सार्वजनिक


खबरस्टोरी संवाददाता
४ बैशाख २०७९, आईतवार
विवेकशील साझाद्धारा काठमाडौं घोषणापत्र सार्वजनिक
काठमाडौं– विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवार बनाइने समीक्षा बास्कोटा र कीर्ति तुलाधरको परिचय तथा प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।

पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा काठमाडौं महानगरपालिलाई केन्द्रमा राखेर भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला–संस्कृति पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौं र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता बुँदाहरु उल्लेख छ।

निजी क्षेत्रसँगको सह–लगानीमा काठमाडौंभित्र बिजुलीले चल्ने ठूला तथा मझौला आकारका सार्वजनिक यातायत व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गरिने प्रतिज्ञापत्रमा उल्लेख छ। ’डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ। बिजुलीले चल्ने यातायातमा रुपान्तरण गर्ने संस्था÷कम्पनीलाई महानगर अन्तर्गतका सबै कर तीन वर्षका लागि मिनाहा गरिनेछ’, प्रतिज्ञापत्रमा भनिएको छ।त्यस्तै, काठमाडौंको कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारी निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानीयवासीका लागि सार्वजनिक स्थलको विकास गरिने प्रतिज्ञा गरिएको छ।

त्यस्तै, महानगरपालिकाले हरेक वर्ष २५ हजारभन्दा बढी वृक्षारोपण गर्ने उल्लेख छ। काठमाडौं महानगरभित्र प्लास्टिक प्रयोगलाई हदैसम्म न्यूनीकरण गरिने प्रतिज्ञा गरिएको छ। ’सडकमा व्यवसाय गर्नेहरुलाई वैकल्पिक स्थानहरुको व्यवस्था गरिनेछ’, प्रतिज्ञापत्रमा भनिएको छ।