भ्रष्टाचाररहित सुखि र समृद्ध पोखराको आफ्ना चुनावी मुद्दा र काम गर्ने अठोट नै मत पाउने आधार भएको बताउने उम्मेदवार घरदैलो र वस्तीमा पुगी आफ्ना प्रतिवद्धता जनतामाझ पु¥याउन निकै व्यस्त छन् । चुनावको मिति नजिकिदै गर्दा सकेसम्म हरेक मतदातामा पुग्ने नसकेमा मुख्य मुख्य वस्तीमा पुग्ने योजनाका साथ घरदैलोमा लागेको उम्मेदवार बताउँछन् ।
सचेत नेपाली पार्टीकातर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार भोजराज खनाल ‘फरक परिणामका लागि फरक विचार, इमानको राजनीति इमानदार सरकार’ भन्ने नाराका साथ आँफू चुनावी अभियानमा जुटेको बताए । आँफूले जनताको सेवा गर्ने निश्वार्थ योजनासहितको प्रतिवद्धता लिएर जनता माझ पुगेको जनाउँदै उनले यसमा जनताको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
पालिकामा संस्थागत भएको भ्रष्टाचार र विचौलियापन निर्मूल गरी इमानदार नेतृत्व र कर्मचारी स्थापित गर्नका लागि नैतिक शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो । स्थानीय तहमा निर्वाचित भएसँगै आँफूलाई सर्वेसर्वा ठानी नागरिकलाई केही नठान्ने प्रवृत्तिलाई अन्त्य गरी जनताको नोकर हुँ भन्ने भावनाको विकास गर्ने उनले बताए ।
पोखराको हेमजाबाट आँफूले चुनावी प्रचार अभियान थालेको जानकारी दिँदै उनले अन्य दलले जस्तो तडकभडक नगरी मतदातामाझ पुगिरहेको बताए ।
“राजनीतिलाई पेसा नभै सेवा हो भन्ने भावनालाई आत्मसात गरी जनताका अपेक्षालाई पूरा गर्ने, सुशासन, भ्रष्टाचार मुक्त पालिकाको निर्माण गर्ने अभियानमा पोखरेली जनताले विश्वास गर्नेमा म ढुक्क छु ”, उनले भने । सचेत नेपाली पाटीले महानतगरमा उपप्रमुखको उम्मेदवारमा सोनी परियारलाई अघि सारेको छ । पार्टीले वडा गतरुपमा भने अन्य उम्मेदवार नउठाएको खनालले जानकारी दिए ।
राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पोखरा महानगरपालिका–९ का सदस्य पदका उम्मेदवार कृष्ण रानाभाट आफ्नो चुनावी प्रतिवद्धतासहित मतदाता शिक्षा दिँदै घरदैलोमा हिडिरहेका छन् । ठूला दलका नाममा विभिन्न प्रलोभनमा पार्ने प्रबृत्तिलाई निरुत्साहन गर्नुका साथै भोट बढाउनका लागि दिवङ्गत व्यक्तिका नामसमेतमा मत हाल्ने विगतदेखिको कुपरम्पराको अन्त्य गर्नु जरुरी रहेको उनको भनाइ छ । राष्ट्रिय नागरिक पाटीले पोखरा महानगरमा प्रमुखको उम्मेदवारमा सिर्जनादेवी रिजाल कार्कीलाई अघि सारेको छ भने वडा नं २१ मा वडा अध्यक्षसहित पाँचै जनाको समूह चुनावी अभियानमा होमिएको रानाभाटले जानकारी दिए । अन्य वडामा भने पार्टीका तर्फबाट उम्मेदवारी परेको छैन ।
भ्रष्टाचार नियन्त्रणसहित पूर्वाधार विकासका लागि विज्ञ टोली बनाएर अघि बढ्ने, सम्पदाको संरक्षण गर्ने प्रतिवद्धतासहित चुनावमा होमिएको विवेकशील साझा पार्टीले महानगरका ३३ वटा वडामध्ये झण्डै ५० प्रतिशत वडामा आफ्नो घरदैलो सम्पन्न गरिसकेको सो पार्टीका प्रमुख पदका उम्मेदवार सुशिला केसी अधिकारीले जानकारी दिए । घरदैलोका क्रममा मतदाताको आश्वासनले आँफू उत्साहित बनेको बताउँदै उनले यस निर्वाचनमा सम्मानजनक मत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
विवेकशील साझाले महानगरको उपप्रमुखमा माधव भण्डारीलाई अघि सारेको छ भने वडा नं २६ को वडा अध्यक्षमा चन्द्रज्योति ढुङ्गाना उम्मेदवार रहेका छन् । अन्य वडामा भने सो पार्टीको उम्मेदवारी छैन ।
बैकल्पिक राजनीतिक शक्तिका रुपमा आफूलाई उभ्याउने प्रयत्नमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टचार मुक्त महानगरको नारालाई जोड दिएको छ । पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवार शंकर खराल र उपप्रमुख पदका उम्मेदवार रन्जना कुमारी सेन पौडेल यतिखेर चुनावी प्रतिवद्धताका साथ घरदैलोमा निरन्तर कृयाशिल छिन् ।
घरदैलोका क्रममा उनीहरुले सिप विकासलाई प्राथमिकता दिई रोजगारी सुनिश्चित गर्ने, कर वृद्धिले पीडित बनेका महानगरवासीको राहतका लागि ५० प्रतिशतसम्म कर कटौती गर्ने शैक्षिक गुणस्तर वृद्धि एवम् शिक्षकलाई पोत्साहन गर्न तलब वृद्धि र प्राविधिक शिक्षालगायतमा जोड दिने मुद्दालाईं अघि सारेका छन् । महानगरपालिकामा कूल मतदाता दुई लाख सात हजार ७१२ छन् ।