किसानका उत्पादन ढुवानीका लागि पोखराले सुरु गर्यो कृषि एम्बुलेन्स


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
किसानका उत्पादन ढुवानीका लागि पोखराले सुरु गर्यो कृषि एम्बुलेन्स
काठमाडौँ। पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो । यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको ढुवानी गर्नेछ ।

उक्त सेवा नि:शुल्क दिइने महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । ‘पोखरामा ढुवानीको समस्या त होइन । तर, एकीकृत ढुवानी छैन । किसानले उत्पादन गरेका कृषि फसलहरु बोटमै कुहिएका छन् । बेच्न सकेका छैनन्,’ उनले भने, ‘नि:शुल्क कृषि एम्बुलेन्स चलाएपछि किसानले पैसा कमाउन सक्छन् । आवश्यक्ता अनुसार यसलाई बढाउँदै लैजान्छौं ।’

किसानले आफ्नो टोलमा भएका उत्पादनको विवरण वडा कार्यालयमा जानकारी गराएपछि एम्बुलेन्स पुग्छ । यसका लागि महानगरले अन्नपात एग्रोलाई साढे ७ लाख रुपैयाँ दिएको छ । ‘ठूलो उत्पादन हुने ठाउँमा आफैपनि किसानले बजार ल्याउन समस्या छैन । साना किसानले उत्पादन गरेका उपजहरुले बजार नपाउने अवस्था छ,’ कडरिया भन्छन्, ‘उहाँहरुले उत्पादन गरेका कृषि उपज वडामा कुनै संकलन केन्द्रमा संकलन गर्नुहुन्छ । त्यहाँ आवश्यकता अनुसार कृषि ढुवानी सेवा सञ्चालन हुन्छ ।’