महंगी ६ वर्षयताकै उच्च


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
महंगी ६ वर्षयताकै उच्च
काठमाडौँ । विश्व बजारमा जस्तै नेपालमा पनि मूल्यवृद्धिले निरन्तर नयाँ रेकर्ड बनाउन थालेको छ । गत असोजदेखि हरेक महिना उकालो लागिरहेको मूल्यवृद्धि दर जेठसम्ममा आइपुग्दा ८.५६ प्रतिशत पुगेको हो । यो पछिल्लो ६ वर्षयताकै उच्च हो । यसअघि आर्थिक वर्ष ०७२/७३ मा औसत मूल्यवृद्धिदर ९.९३ प्रतिशत थियो । पछिल्ला महिनामा मूल्यवृद्धिदर चुनौतीका रूपमा रहँदै आएको राष्ट्र बैंकले पनि स्विकारेको छ । गत वर्षको ११ महिनामा यस्तो मूल्यवृद्धि दर ४.१९ प्रतिशत थियो ।

पछिल्ला महिनामा मूल्यवृद्धिले नयाँ रेकर्ड बनाउँदै आएको र आउँदा महिनामा थप चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । गत फागुनमा राष्ट्र बैंकले सार्वजनिक गरेको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले आगामी ३ महिनाभित्र मूल्य वृद्धिदर ८ र एक वर्षमा १० प्रतिशत पुग्न सक्ने अनुमान गरेको थियो । मूल्यवृद्धि चुनौतीकै रूपमा आएकाले नियन्त्रणका लागि पनि ब्याजदर बढाउनुपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

प्रतिनिधिसभअन्तर्गत अर्थ समिति बैठकमा आगामी मौद्रिक नीतिसम्बन्धी छलफलमा अधिकारीले अब ब्याजदर बढाउनुको विकल्प नभएको जनाएका थिए । संसारभरका ठूला देशले पनि मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदर वृद्धिको उपाय अवलम्बन गरिरहेकाले नेपालले पनि त्यही बाटो अपनाउनुपर्ने उनको भनाइ रहेको कान्तिपुर दैनिकले खबर छापेको छ ।