पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगियो


खबरस्टोरी संवाददाता
२२ चैत्र २०७८, मंगलवार
पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगियो
तनहुँ। नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगिएको छ । 

मंगलबार विहान ७ बजे पछाडी कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीको भनाइ छ । ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरी तनहुँ कारागार ल्याइनेछ’, उनले भने ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे । उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ ।आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ ।’ 

क्षेत्रीका अनुसार गोला थुतेर कसकाे इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन । ‘गोला थुतेर कसकाे इजालसमा पर्छ । त्यसपछि इजालस अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने । ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।

जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट  कैफियत प्रतिवेदन माग गरिसकेको छ । सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो ।