आईजीपी मुद्दा कार्की र चुडालको इजलासमा


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
आईजीपी मुद्दा कार्की र चुडालको इजलासमा
काठमाडौं । सरकारले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेकोमा असन्तुष्ट एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमवार अन्तिम सुनुवाई गर्दैछ । 

बरियताक्रममा आफू भन्दा जुनियर एआईजी सिंहलाई सिंहले आईजीपी नियुक्त गरेपछि पोखरेलले अदालतको ढोका ढक्ढकाएका हुन् । 

पोखरेलको मुद्दाको अन्तिम सुनुवाई कायम मुकायम प्रधानन्यायाधीस दीपककुमार कार्की र न्यायाधीस डा. कुमार चुडालको इजलासमा पुगेको छ । 

यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले जेठ ३० का लागि पेसी तोकेको थियो ।

सम्भवतः सोमवारको सुनुवाईपछि फैसला आजै आउन सक्ने देखिएको छ । गत वैशाख १९ मा अवकाश पाइसकेका डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजङ कार्कीले एआईजी सिफारिसविरुद्ध दर्ता गरेको रिट र पोखरेलले आईजीपी बढुवाविरुद्ध दर्ता गरेको रिटलाई एकसाथ राखेर हेर्ने अदालतले आदेश गरेको थियो ।