आईजीपी नियुक्ति बदरको मागसहित एआईजी पोखरेल र थापा सर्वोच्चमा


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
आईजीपी नियुक्ति बदरको मागसहित एआईजी पोखरेल र थापा सर्वोच्चमा
काठमाडौं ।  सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत पुगेका छन् । वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित उनीहरु सर्वोच्च अदालत पुगेका हुन्। 

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग राखेका छन्। 

एआईजी पोखरेलले आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको बताएका छन् भने सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ ।

गृह मन्त्रालयले विश्वराजलाई पहिलो नम्बरमा राखेर आईजीपी बढुवाका लागि सिफारिस गरेको भए पनि  प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको थियो  ।