अन्तरिम आदेश दिने/नदिने टुंगो आज


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
अन्तरिम आदेश दिने/नदिने टुंगो आज
काठमाडौँ । आईजीपी नियुक्ति विवादकोे टुंगो आज लाग्दैछ । 

बुधबार प्रारम्भिक सुनुवाइमै विपक्षी पनि सहभागी भएपछि अन्तरिम आदेश छलफलका लागि झिकाउने सम्भावना समाप्त भएको छ । आज न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले नै अन्तरिम आदेश दिने नदिने भन्ने टुंगो लगाउने छ । 

सरकारले आइतबार आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा सहित दञ्र्जानी चिन्ह समेत प्रदान गरिसकेको छ ।आफुभन्दा जुनियरलाई सरकारले आइजिपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्। 

उनको रिटमा बुधबार सुनुवाइ सुरु भएको हो। बुधबार दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका छन्। पोखरेलका तर्फबाट अधिवक्ताहरू मेघराज पोखरेल, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, हरिहर दाहाल, पूर्णमान शाक्य र महादेव यादवले बहस गरेका छन्। 

विपक्षी बनाइएको सरकारका तर्फबाट महान्यायाधीवक्ता खम्मबहादुर खाती, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी र डा. टेकबहादुर घिमिरेले बहस गरेका छन्। यस्तै आईजीपी धीरजप्रताप सिंहको तर्फबाट सुशील पन्त, टीकाराम भट्टराई, डा. भीमार्जुन आचार्य र केदार दाहालले बहस गरेका थिए ।

बहसपछि अन्तरिम आदेश हुने वा नहुने भन्ने आदेश आउने छ।