आईजीपी नियुक्ति विवाद : न्यायको लागि अदालतको ढोका ढक्ढकाउदै पोखरेल र थापा


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
आईजीपी नियुक्ति विवाद : न्यायको लागि अदालतको ढोका ढक्ढकाउदै पोखरेल र थापा
काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा रिक्त आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । 

प्रहरी संगठनका प्रमुख आईजीपी शैलेश थापाको ३० वर्षे सेवा अवधि आइतबार रातिबाट सकिएसँगै प्रहरीमा रिक्त आईजीपीमा सरकारले सिंहलाई नियुक्त गरेको हो । आईतबार नै एक कार्यक्रमका बीच थापालाई बिदाई गरिएको थियो भने सोमबार बिहान प्रहरीको नयाँ संगठन प्रमुखको रुपमा एआईजी धिरजप्रताप सिंहले फुली लगाए ।

यद्यपी नयाँ आईजीपी नियुक्तिबारे प्रहरी संगठन भित्रै पनि एक खालको तरंग मच्चिएको छ । बढुवामा नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ । रोलक्रममा तेस्रो नम्बरमा रहेको र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै असन्तुष्ट पक्षहरु सर्वोच्च पुगिसकेका छन् ।

हुन त प्रहरी संगठनको आईजी चयन प्रक्रियामा देखिएको विवाद यो नै पहिलो र नयाँ भने होइन्, विगतमा पनि सरकारको नेतृत्वमा रहेको पार्टीहरुले आफ्नो अनुकुलताका व्यक्तिहरुलाई राजनितीक पहुँचका आधारमा चयन गरिदै आएको छ । प्रधानमन्त्री देउवाका कारण प्रहरीमा राजनीतिक हस्तक्षेपको सुरुवात भएको मान्नेहरु धेरै छन् । उनी पहिलो पटक गृहमन्त्री हुंदा प्रहरीमा ३० वर्षे सेवा हद लगाइएको थियो । पछी वरियतामा पछाडी रहेका जयबहादुर चन्दलाई पनि उनकै दबावमा आईजीपी बनाउंदा प्रहरीमा विवाद भएको थियो । सरकारको उक्त निर्णयविरुद्ध तत्कालिन डीआईजी नवराज सिलवाल सर्वोच्चसम्म पुगेका थिए । 

प्रहरी नियमावली–२०७१ मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मध्येबाट कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीका आधारमा एक जनालाई आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था छ ।

एउटै ब्याच र सेवामा प्रवेश पनि सगै भएका हालका एआईजी विश्वराज पोखरेल एसपीबाट छलाङ मार्दै एआइजी सम्म आइपुग्दा अब्बल बनेका थिए । तर,सरकारले एकाएक तेस्रो वरियतामा रहेका सिहंलाई नयाँ आईजीमा नियुक्त गर्यो, संगठनको नेतृत्वको आफुभन्दा जुनियरलाई ल्याईएको भन्दै नैतिक रुपमा असन्तुष्ट बनेका दुई एआइजीपीद्धय विश्वराज पोखरेल र सहकुलबहादुर थापा हिजो अबेरसम्म प्रहरी हेडक्वाटरमा बिदा लेखेर निस्किएका थिए । 

पोखरेलले ३० र थापाले १० दिनको बिदा लेखेर न्यायको लागि अदालत पुगेका छन् । यद्यपी बिदा भने स्वीकृत भएको छैन् । आईतबार रातिबाट अवकाशमा गएका शैलेश थापाले बिदा स्वीकृत गर्नुपर्नेमा उनको रिटायर्डसगै सो बिदाको स्वीकृती अबको नयाँ आइजी धिरजप्रतापले दिनुपर्ने हुन्छ । प्रहरीमा एआइजी सम्मको बिदा आईजीपी स्वीकृत गर्नुपर्ने हुन्छ ।