बाढीले बगाएर एक बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता
१७ बैशाख २०७९, शनिबार
बाढीले बगाएर एक बालिकाको मृत्यु
काठमाडौ । शुक्रबार साँझको करिव ५ बजे भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर घरबाट निस्किईन ।

घरबाट निस्किएपछि सिमसिम पानीमा दिदी र बहिनी सँगै हिँडेका थिए । घर नजिकैको बेसारेखोला खोल्सी तर्ने क्रममा एक्कासी माथिबाट बाढी आयो । लेदो माटोसहितको बाढीले दिदीबहिनीलाई एक्कासी बगायो । हात समातेर हिडिरहेका दिदीबहिनीलाई खोलाले बगाएपछि दिदी केही तल बाँसको हाँगो समाएर फुत्किन सकिन । तर, ८ वर्षिया बहिनी शिवानीलाई दुर्गाले बचाउन सकिनन् ।

रात परिसकेका कारण दुर्गा घर फर्किइनन् । तत्कालै प्रहरी चौकी ढाकावाङ्गमा खबर गरियो । प्रहरीको टोलीले राति करीब १२ बजेसम्म खोज्दा पनि फेला नपरेपछि प्रहरी पनि रित्तो हात  फर्कियो ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीसहित स्थानीयवासीहरु शनिबार बिहान हिलोमा गडेको अवस्थामा बालिकाको शव फेला पार्यो । बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको छ । घटना बारे थप अनुुुसन्धान भईरहेको प्रहरीको भनाई छ ।