बाघको आक्रमणबाट एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१७ बैशाख २०७९, शनिबार
बाघको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौँ । बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ ।  बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका  करिब २३ वर्षीय माहुते रमेश चौधरी थारुलाई शुक्रबार साँझ करिब साढे ५ बजेको  समयमा  बाघले आक्रमण गरेको हो ।

हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

शरिरको घाँटी लगायतको भागमा चोट लागेको अवस्थामा प्रहरीले मृतकको शव फेला पारेको हो । शवको जाँच  मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । छोराको मृत्युको विषयमा बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र थप अनुसन्धान गर्ने काम भइरहेको अधिकारीले बताए ।