काठमाडौं । बलात्कारको आरोप लागेका जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव बीपी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार आफै धनुषा प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका साहलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत धनुषाले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको समय दिएको धनुषाका एसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
जनकपुरधामकी २७ वर्षीया एक महिलाले साहले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि प्रहरी प्रशासनले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साहलाई पक्राउ गर्न प्रहरी नजिकै पुगेपछि पक्राउ पर्ने डरले उनी आफैँ प्रहरी कार्यालय पुगेका हुन् । साहमाथी जाहेरी दर्ता भएपछि जनमत पार्टीले केन्द्रीय सचिवबाट निलम्बन गरेको थियो ।