बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरहगना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रुपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । भारतीय नागरिकहरूले पसल राख्नका लागि भन्दै घर भाडामा लिएर डेकोरेसनलगायतको काम सुरु गरेको बेला सुन पसलमा चोरी भएको हो ।
रुपन्देहीमा विगतमा पनि सुनचाँदी पसल फोरेर चोरी हुने गरेको भए पनि यो घटना अहिलेसम्मकै ठूलो भएको सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले बताए । उनका अनुसार रुपन्देहीको रानीबगियामा पनि केही समयअघि सुन पसल लुटपाटको प्रयास भएको थियो । त्यसक्रममा सुन लुट्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएको विश्वकर्माले बताए ।
सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटकपटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताए ।
व्यवसायीहरूले पटकपटक सुनपसलमा चोरी हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको र सुरक्षा दिन नसकेको गुनासो गरेका छन् । प्रहरीले भने सुन पसलमा चोरी गर्नेहरूको खोजिभइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले घटनामा संलग्नहरुको अनुुसन्धान भइरहेको जानकारी दिए ।