चितवनमा छुरा प्रहारबाट एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२६ बैशाख २०७९, सोमबार
चितवनमा छुरा प्रहारबाट एक जनाको मृत्यु
चितवन। भरतपुर महानगरपालिका-१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको छुरा प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।

 भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो ।छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । 

प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ ।

छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।