एक महिला र चार पुरुष मृत अवस्थामा भेटिए


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
एक महिला र चार पुरुष मृत अवस्थामा भेटिए
काठमाडौं । काठमाडौंको दक्षिणकाली तथा विभिन्न ठाउँमा एक महिला र चार पुरुष मृत अवस्थामा भेटिएका छन् । 

काठमाडौं, दक्षिणकाली नगरपालिका–९ स्थित पुरानो दक्षिणकाली वनमा नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय १ जना पुरुष र १ जना महिला गरी दुई जना सोमबार मृत अवस्थामा फेला परेको प्रहरीेले जनाएको छ । 

यस्तै, बैतडीको दशरथचन्द, कैलालीको घोडाघोडी तथा कपिलवस्तुमा तीन पुरुष मृत अवस्थामा फेला परेका हुन् ।   

बैतडीको दशरथचन्द नगरपालिका–२ सौडाली बस्ने ३४ वर्षीय प्रेम सिंह रावत सोही नगरपालिका–१ ईडा खोला नजिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । जेठ १७ गतेदेखि घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–५ सितलपुर मड्यारी बस्ने २१ वर्षीय पुरन चौधरी सोही ठाउँस्थित शान्ति सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट खाना खाएर काम गर्न जान्छु भनेर गएका उनको उक्त स्थानमा शव फेला परेको हो । 

यसैगरी कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–३ जमौरास्थित पोखरीमा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण पासि सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।