काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएकै दिन शुक्रबार अमेरिकी सेनाको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।
केही समययता अमेरिकी सेनाको जहाज विमानस्थलमा अवतरण गरेको देखिरहेका नेपालीले देउवा भारत भ्रमणमा गएपछि शनिवार अमेरिकी सेनाकै टुकडी विमानस्थलमा देखा पर्यो । अमेरिकी सेना नेपाल आएकोमा सर्वसाधारण नागरिकलाई चासो पर्यो । तर अमेरिकी विमान र अमेरिकी सेनाहरु नेपाल आएको कारण नागरिकलाई पत्तै भएन ।
तर अमेरिकी सेना र नेपाली सेनाबीचको संयुक्त तालिमका लागि अमेरिकी सेना नेपाल आएको नेपाली सेनाको सैनिक मुख्यालयले जनाएको छ । संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको बताइएको छ ।
अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वाललाई सरकारी समाचार एजेन्सी राससले समाचार लेखेको छ ।
हालसम्म व्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।
प्रवक्ता सिल्वालले भने, “यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ ।” संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदैछन् ।
तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।
परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ । दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो ।