फेसबुककाे लभ : प्रेमी भेट्न जाँदा सामुहिक बलात्कार


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
फेसबुककाे लभ : प्रेमी भेट्न जाँदा सामुहिक बलात्कार
बाँके। बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।  भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले ती किशोरीलाई फेसबुक मार्फत  जन्मदिन मनाउनका भन्दै सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो ।

खोरमा राजकुमार थारु लगायत ५ जनाले बलात्कार गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । 

बलात्कार अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।