इजलासमा एआईजी विश्वराजको भावुक अभिव्यक्ति– ‘‘ ममाथि अन्याय भयो श्रीमान न्याय पाउँ !’’


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
इजलासमा एआईजी विश्वराजको भावुक अभिव्यक्ति– ‘‘ ममाथि अन्याय भयो श्रीमान न्याय पाउँ !’’
काठमाडौं । सर्वोच्च अदालतमा दायर भएको आईजीपी नियुक्तिसम्बन्धी रिटको बहसका क्रममा एआईजी विश्वराज पोखरेलले भावुक मन्तव्य दिएका छन् ।बहसको अन्त्यतिर विश्वराज स्वयंले बोल्नलाई न्यायाधीशसँग समय मागे। न्यायाधीशको अनुमति पाएपछि उनी भावुक देखिए ।

‘२९ वर्षको सेवा कालमा अहिले ममाथि भएको यो अन्यायले मलाई मरेतुल्य बनाएको छ श्रीमान्,’ इजलासमा कार्यसम्पादनमा म राम्रै थिएँ तर पनि ममाथि अन्याय भयो। मभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाइयो। यो अन्याय मेरा लागि म मरे बराबर हो ।’

आफैंले फूली लगाइदिएको आफूभन्दा डेढ वर्ष जुनियर एआईजीलाई सरकारले आईजीपी बनाएपछि एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको थियो। बुधबार बहस नसकिएर हेर्दाहेर्दैमा राखिएको यो रिटउपर आजै आदेश आउने सम्भावना छ। इजलासमा आज एआईजी पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए। बुधबार इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने धिरजप्रताप सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए।