काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । एक युवालाई ललितुर र अर्कोलाई रुपन्देहीबाट पक्राउ गरेको हो ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका–५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले करणी अभियोगमा पक्राउ गरेको हो ।
तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, ११ वर्षीया र ७ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पा लौङ्ग्री गाउँपालिका–४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३ तिनाउ खोला बगरमा गत चैत २१ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।