जबरजस्ती करणी गरेको अभियोगमा दुई युवा पक्राउ


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवा पक्राउ
काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । झापाकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राई र ललितपुरकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने २३ वर्षीय मिलन परियार पक्राउ परेका हुन् । 

झापाकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस्तै, ललितपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।