झण्डै डेढ लाख नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
झण्डै डेढ लाख नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौँ। सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल बजारको चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आज बिहान ५ बजे सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सक्सेनाको साथबाट नेपाली एक हजार दरका ५० थान, भारु दुई हजार दरका २३ थान र भारु पाँच सय दरका १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।

उनलाई आज बिहान स्थानीय वाल्मिकी चिया पसलमा चिया पिउँदै गरेको अवस्थामा समातिएको हो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।